झापा / प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बहु तले बसपार्क निर्माण हुने पक्का भएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब सहित मन्त्रालयको टिमले नै दमकको प्रस्तावित बहु तले बसपार्क निर्माणस्थलको स्थलगत अवलोकन गरेपछि स्थानीयले उक्त योजना अघि बढ्ने संकेत पाएका हुन् ।
करोडौँ मूल्यका संरचना दमक केन्द्रित निर्माण हुन थालेको भन्दै सरकार भित्र र बाहिर आलोचना बढ्दै जाँदा पनि दमकमा उक्त योजना फेरी थप्न लागिएको हो । दूईदिन अघि यहाँ आएका शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले पनि बहुतले बसपार्क निर्माणको योजना अघि बढ्ने संकेत गरेका थिए । यसका लागि डिपिआर लगायतको काम भएको जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दमकमा आएको समयमा यो बिषयमा प्रतिबद्धता ब्यक्त गरेका थिए । दमकमा भ्यु टावर, दमक चाइना इन्डस्ट्रियल पार्क, ऐतिहासिक बुद्धमूर्ति , दमक सभागृह र पछिल्लोपटक बहुतले बसपार्कले निर्माणको गति लिन थालेको छ । प्रधानमन्त्री स्थानीय भएकै कारणले दमकमा उनका महत्वकाङ्क्षी योजना अघि बढिरहेका छन् ।
कतिपय स्थानीयले दमकमा ठुला र महत्वकाक्षी योजनाहरु पहुँचका भरमा आउने तर काम नहुने गरेको भन्दै गुनासो गरिरहेका छन् । स्थानीय सिता कोइरालाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै योजनाहरु ल्याउनुभयो तर पूरा हुन सकेका छैनन् । तर, प्रधानमन्त्री ओलीले निर्वाचन तथा त्यसपछि गरेका प्रतिबद्धताहरु पुरा हुँदै आएको नेकपाका स्थानीय नेताहरुले बताएकाछन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार दमकमा प्रधानमन्त्री ओलीले गरेका प्रतिबद्धताहरु अधिकाँश पुरा हुने ग्यारेन्टी गरेका छन् । ‘सबै कामहरु शुरु भएका र कतिपय शुरु हुने चरणमा छन,’ उनले भने । मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका योजनाहरु दमकको नभएर राष्ट्रको योजना भएकाले ति पुरा हुने बताए । उनले पर्यटकीय र आर्थिक सम्बृद्धिसंग जोडिएका योजनाहरु पुरा गर्नका लागि बजेटको अभाव नरहेको दाबी गरेका छन् ।
सरकारसँग ईच्छाशक्ति रहेको उनले जनाए । दमक नगरपालिकाका अनुसार नगरविकास कोषमार्फत डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले बहुआयमिक/बहु तले बसपार्कको डिपिआर निर्माणको काम गरिरहेको छ । नगर विकास कोषको ऋण लगानी र सहरी विकास मन्त्रालयको अनुदानमा बसपार्क बनाइन लागिएको दमक नगरपालिकाको सूचना शाखाले जनाएको छ । यसको लागत करिब ६० करोड अनुमान गरिएको छ ।