दमक/ मालपोत कार्यालय दमकले २ दिन अघि मालपोतमा भएको घटनाप्रति दु:ख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
सेवाग्राही तथा पत्रकारहरुप्रति भएको घटना दुखद् भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी पनि मागेको छ । ‘हामीले यस विषयलाई गम्भिर रुपमा लिएका छौ’, बिज्ञप्तिमा भनिएको छ ।
मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार खगेन्द्र घिमिरे माथि हातपात तथा दुर्व्यवहार भएको बताईएको छ । यस विषयमा मुछिएको कर्मचारी ईन्द्र राजवंशीलाई मालपोत कार्यालयले २४ घण्टे स्पस्टिकरण पनि सोधेको मालपोत श्रोतको भनाई छ ।
यता ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि राजवंशीलाई प्रहरीले पनि सोधपुछका लागि हाजिर हुन आग्रह गरेको र आग्रह वेवास्था गरे पक्राउ गर्ने तयारी रहेको श्रोतको भनाई छ । यस अघि पत्रकार महासंघ झापा लगायतका पत्रकारजन्य संघसंगठनहरुले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।