झापा / झापामा एक जना ८६ वर्षका वृद्धको बलबुताले परिवारको गुजारा चलिरहेको छ । त्यो पनि ४ जनाको । उनी पेन्सनवाला जागिरे होइनन् । आम्दानीको अन्य कुनै श्रोत नभएपछि २६ वर्ष देखि आफ्नै बलबुताले परिवारको जिउपालो गर्ने गरेका रहेछन् ।
पुर्व पश्चिम राजमार्गको दुर्गापुर स्थित पश्चिम जाने बस बिसौनीमा आफ्नै हातले बाटेको दाम्ला बेचेर परिवारको गुजारा चलाउदै छन् लक्ष्मी प्रसाद दाहाल । उनको यो व्यापारमा लगानी शुन्य जस्तै छ । गाँउ घरमा फालेका जुट लगायतका प्लाष्टिकका बोरा उधारेर उनले भैंसी बाध्ने दाम्लो बनाउछन् र बजारमा लगेर बेच्छन् । दाम्लो भैंसीलाई मात्र होइन । गाँउमा खोलिएका पशुपालन फर्मका चौपायालाई पनि तिनका मालिकले किनेर लैजाने गरेको उनले बताए ।
गाँउमा संकलन गर्दा पुगेन भने सुरुङ्गा, विर्तामोड, दमक, झिलझिले, शनिश्चरे, धुलाबारी लगायतका शहरमा पुगेर पनि किनेर ल्याउछन् । उनने भने, ‘लकडाउन अघि थोत्रा बोराको मुल्य प्रतिगोटा १० थियो, अहिले बढेर २० पुगेको छ ।’ दाम्लो बाट्न प्रयोग हुने कच्चा पदार्थको मुल्य बढ्दा आफ्नो भान्सा कोठामा असर परेको उनले बताए ।
‘गाँउमा किन्न पर्दैन, चिनेजानेकाले सित्यैमा दिन्छन तर बजार र शहरबाट थोत्रा बोरा किनेरै ल्याउनु पर्छ ,’ उनले भने । उमेर छँदा विर्तामोड दमक सम्म त हिडेर जाने गरेका रहेछन् । ‘उतिबेला हिँडेर गएकाले त यो उमेर सम्म बाँचेको छु । सवारी साधन प्रयोग गरेको भए त उमेरमै सुगर प्रेसरले लगि हाल्थ्यो नि !’ हिण्डुल गर्यो भने शरिरलाई व्यायाम पुग्छ र रोग लाग्दैन भन्ने उनलाई थाहा रहेछ ।
उनले बेच्न राखेको दाम्ला झापा लगायत ईलाम, पाँचथर, ताप्लेजुँङ मोरङ का पशुपालक किसानले लैजाने गरेका छन् । प्र्रतिगोटा ३ सयमा बेच्ने गरेको दाम्लोमा पनि कतिपय किसानले दलाल गरेको उनलाई पटक्कै मन पर्देन । ‘होटलमा मासु मदिरा खाँदा टिप्स दिन्छन, म बुढो संग ५ रुपैयाँमा पनि दलाल गर्छन,’ कतिपय ग्राहक यस्ता पनि आएको उनले सुनाए ।
उनका घरमा ४ जनाको परिवार छ । ‘एक÷एक जना छोरा छोरी र श्रीमती । छोरो यातायात मजदुर हो । छोराले कमाएको पैसाले घरका लागि अन्न पात किन्न पनि पुग्दैन । छोरीको पढाई खर्च, घर व्यवाहार चलाउन, आउने जाने पाहुना पाताका लागि मेरै कमाई पनि हम्मेहम्मे हुन्छ । उनले भने, ‘अब कति नै बाच्छु होला र ? बाचुञ्जेल यै व्यापार गर्छु ।’
व्यापार भईदिएको भए पक्की घर बनाएर यो जाडोमा चिसोबाट बच्न न्यानोमा बस्ने उनले योजना बनाएका रहेछन् । तर, आम्दानीको मुख्य श्रोत दाम्लो उनले भनेजसरी नबिक्दा पक्की घर बनाएर बस्ने योजना चकनाचुर भयो । ‘यो उमेर सम्म बहालमा बसिरहेका छौं,’ उनले भने, ‘आफ्नै घरमा मर्न पाए हुन्थ्यो ।’ घर बनाउनका लागि भने उनले यस अघि नै घडेरी किनेका रहेछन् । तर, घर बनाउन भने पैसा नभएर सकेनन् ।
उनलाई दाम्लो बाट्न कति पनि समय लाग्दो रहेनछ । ‘एउटा ५० केजीको बोरा उधारेर बाट्न थाल्यो भने २ घन्टामा दाम्लो तयार हुन्छ,’ उनले भने ‘२० रुपैयाँ लगानी गरेको बोराबाट क्रेताले दलाल गरेनन् भने ३०० सयमा बिक्रि हुन्छ र २ सय ८० नाफा हुन्छ ।’ एक दिनमा ५ वटा सम्म दाम्लो बाट्न सकिने उनले बताए । उनलाई नजिकबाट चिन्नेले भन्छन् ‘‘दाम्लो बाजे’ बिहानै देखी दुर्गापुर चोकमा आएर सुति सुति व्यापार गर्नुहुन्छ ।’
भेल्वेट, अन्य कपडा, जुट र प्लाष्टिकका बोराबाट उनले दाम्लो, नाम्लो, मुखारी, डोरी लगायतका सामग्री बनाउने गरेका छन् । २०३० साल देखी झापाको सुरुङ्गामा आएर बस्ने थालेका ८६ वर्षीय वृद्ध दाहालले भने ‘दाम्लो बिकेन भने त मेरो भान्सा कोठा धुवाउँदै धुवाउदैन ।’ उनका हातले बनाएका सामग्री विकेनन् भने उनी भरे के खाने, के ख्वाउने भनेर खिन्न हुन्छन् । ‘सधैभरी एक नाशले दाम्लो बिक्छ भन्ने छैन,’ उनले भने ।