add

नगर प्रमुख शेर्माकाे अनुगमन, बाइस तस्विरमा ‘दोमुखा’

दोमुखा/ प्रकृतिको अनुपम उपहार हो झापाको दोमुखा । डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, वरिपरि वनजंगलको साथ अनि मनै छुने चराचुरुङ्गीको आवाज । चुरे पहाडको फेद । केही सानो बस्ती अनि नजिकै कलकल बग्ने कनकाईको पानी । यो मनमोहक दृश्यको कल्पना मात्रै गर्दा पनि आनन्द महसुस हुन्छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित पर्यटकीय हिसाबले नेपालमै निकै महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो दोमुखा । पूर्वको यो प्राकृतिक रमणीय स्थलबाट इलामको हरियो वन र तराईको समथर भूभाग मज्जाले देख्न सकिन्छ ।

पूर्वमा कनकाई नगरपालिका र उत्तरमा इलामको माई नगरपालिकाको सीमानामा पर्ने यो स्थल दक्षिण र पश्चिममा शिवसताक्षी नगरकै भूभाग पर्छ । दोमुखा पर्यटकीय स्थलका रूपमा मात्र होइन,फलफूल तथा कृषि उत्पादन तथा धार्मिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण ठहरिएको छ । मनमोहक र सुन्दर दृश्य देखिने यहाँ बाह्रै महिना चिसोको अनुभव गर्न सकिन्छ । १ नम्बर प्रदेशको दोश्रो ठुलो सिचाँई आयोजना कनकाई सिचाई प्रणालीको कनकाई नहर पनि दोमुखाकै शिर बाट सुरु हुन्छ । २०३३ सालमा कोरीयाली सरकारले निर्माण गरेको कन्काई सिँचाइ प्रणालीको हेडबक्सले दोमुखाको सुन्दरता थपिएको स्थानीय बताउँछन् ।

हिम श्रृङ्खलाबाट तराई झरेकी कनकाई माईको चिसो कलकलाउने पानीले यहाँ आउनेलाई शितलता प्रदान गर्छ । दोमुखा सबै उमेर समुहका मानिसका लागि उपयोगी पर्यटकीय क्षेत्र हो । गर्मी होस् वा चिसो मौषम । बर्खाको हिलो नै किन नहोस दोमुखा आउनेले मौषमले दिएको पिडा भुलेकै हुन्छन् ।

उत्तरमा हरियो पहाड दक्षिणमा तराईका परम्परागत रूपमा निर्माण भएका घर टहराले सहरिया जीवनलाई मन्त्रमुग्ध बनाउँछ । दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले दोमुखाको रूप परिवर्तन गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य नै दोमुखा भएको स्थानीय बासिन्दाको भनाइ छ । खासगरी झापा, मोरङ र सुनसरी जिल्लाका स्थानीय दोमुखा आउन रुचाउँछन् । आफ्नै आँगनको पर्यटकीय क्षेत्र ईलामेली पनि दोमुखा आउने गरेका छन् । सिक्कीम, दार्जेलिङ, गान्तोक, मिरिक, सिलगढी लगायतका नेपाली भाषी भारतीय पनि दोमुखा आउन रुचाउछन् ।

सुनसरी हाँसपोसाकी धनकुमारी अधिकारीका अनुसार दोमुखा जस्तो प्राकृतिक दृश्य देखिने स्थल पूर्वमा कहीँ छैन । दोमुखामा स्थानीय सरकार गठन भएपछि भौतिक पूर्वाधार पनि थपिएका छन् । संघिय सरकार, प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाले दोमुखा लाई पर्यटकिय क्षेत्रको रुपमा थप बिकास गर्न लागि परिरहेको छ । दोमुखालाई आम्दानीको राम्रो श्रोतका रुपमा बिकास गर्न प्रतिनिधि सभाका सांसद एलपि साँवा लिम्बु , प्रदेश सांसद हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा लागि परिहरेका छन् ।

बालबालिकाका लागि चिल्ड्रेन पार्क, युवायुवतीका लागि प्राकृतिक भूभाग, वृद्धवृद्धाका लागि चौतारी र नवदुलहादुलहीका लागि वैष्णोदेवी माता मन्दिर बनेपछि सबै उमेरका सर्वसाधरण दोमुखा आएर आनन्द लिने गरेको स्थानीय बासिन्दा बताउँछन् । दोमुखा आएर गीत बजाएर नाच्नु छुट्टै मजा हुने सुनसरी चतराकी शुस्मा नेपालीको अनुभव छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, वडा नम्बर २ का अध्यक्ष तथा नगरका सचेतक कुलवहादुर बस्नेत, नेकपाका नेता राधा कृष्ण खनाल र सुखानी सहिद स्मृती प्रतिष्ठानका महासचिव हर्क राईले आईतबार दोमुखा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनमा रहेका नेकपा नेता खनाल र प्रतिष्ठानका महासचिव राईले नगर प्रमुख शेर्मा लाई दोमुखा पर्यटकीय क्षेत्रको बिकासका लागि स्थानीय तहले हदै सम्मको लगानी गर्न सुझाए । उनिहरुले भने, ‘दोमुखामा बेलामा लगानी गरे शिवसताक्षी नगरले भविस्यको राम्रो आम्दानी गर्न सक्ने छ ।’

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा वेलकम सताक्षी डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने ?

Read Next

प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *