add

चलचित्र कुसुमले जुराएको विदेश यात्रा

सागर सुब्बा
मेरो २५ वर्षे कलायात्रामा सबैभन्दा खुशी बनाएको चलचित्र कुसुमले हो । यसै चलचित्र लिएर मलेसिया, सिंगापुर र हङ्कङको यात्रा गरेको थिएँ । ति क्षणहरुलाई यसरी सम्झन चाहन्छु ।

सम्माननीय राष्ट्रपति रामवरण यादवबाट नेपाल सरकारद्वारा प्रदान गरिएको राष्ट्रिय चलचित्र अवार्ड पाएपछि कुसुम चलचित्रको चर्चा नेपाललगायत अन्तराष्ट्रिय जगतमा फैलियो । विभिन्न देशबाट कुसुम चलचित्र बारेमा रिभ्यू र प्रोमो हेरेपछि सकारात्मक प्रतिक्रिया आउन थाल्यो । कुसुमको पहिलो विदेश प्रदर्शनी गर्नको लागि निर्माता फरा डेण्डी शेर्पा लामाले अमेरिका र बेलायतमा प्रर्दशन गर्नुभयो । मैले मलेसिया कर्मथलो बनाएर सफल ब्यवसायी बन्न सफल मित्र दिलकुमार केरुङजीलाई नेपाल आउनु भएको बखत कुसुम चलचित्र मलेसियामा प्रर्दशनको लागि प्रस्ताव राखेँ । उहाँले उपयुक्त समयमा चलचित्र प्रर्दशन गरिदिने बाचा गर्नुभयो । नेपालको विभिन्न स्थान र अन्य राष्ट्रबाट च्यारिटी गर्न कुसुमको माग भईरहेको भियो । यसको व्यवस्थापन गर्न मैले निर्माताहरूलाई सहयोग गरिरहेको थिए । कुसुम चलचित्रको व्यापक प्रचार-प्रसारमा लागिरहेकोले गर्दा अत्यन्तै व्यस्त भईरहेको थिएँ । दिलकुमार केरुङजीले २०७१ साल माघ १ गते मलेसियाको क्वालालम्पुरमा चलचित्रको शो निश्चित गरेको जानकारी दिनुभयो ।

मलेसियाको घुमाई
मैले अनौपचारीक रूपमा केहि देशको भ्रमण गरेको थिएँ तर औपचारीक रूपमा चलचित्र निर्देशक भएर गएको पहिलो विदेश यात्रा मलेसिया भयो । त्यसैले म उत्साहित थिए । कुसुम प्रर्दशन गर्नु निमा शेर्पा सरसँग मलेसिया जाने सल्लाह भएको थियो । तर कोरियामा पनि चलचित्र प्रर्दशन गर्नको निम्ति जानुपर्ने भएकोले २०७१ पुस २६ गते मलेसिया प्रस्थान गरेँ । यहाँबाट जाडोले काम्दै मलेसिया पुग्दा त गर्मीको महसुस भयो । पछि दिल सरसँग बुझ्दा मलेसियाको मौसम नै यस्तो रहेछ । रुखको पात कहिले नझर्ने फलफुल बाह्रैमास फुलिरहने । मलेसियाको मौसमबारे जानकारी पाएपछि मलाई अनौठो लाग्यो । म मलेसिया पुगेको फेसबुकमार्फत मेरो साथी भाई तथा इष्टमित्रहरूले थाहा पाउनु भएछ । धेरै साथीहरू मलाई भेट्न आउनु भयो । कतिले फोनबाट नै बधाई दिनु भयो । कुसुमलाई मलेसियामा प्रर्दशन गर्नको निम्ति नेपाली ब्यापारी समाज मलेसिया किरात धर्म तथा साहित्य उत्थान संघ किरात याक्थुङ चुम्लुङले सहयोग गरिदिनु भयो । यसको संयोजन भने दिलकुमार केरुङले गर्नु भएको भियो । चलचित्र प्रर्दशनको क्रममा भेट भएको नेपाली दाजुभाईहरूले पनि आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुभयो । माघ १ गते काठमाण्डौ रेष्टुरेण्टमा ‘कक्फेण्वा तङनाम’को औपचारीक कार्यक्रमपछि कुसुम प्रर्दशन भयो । सो कार्यक्रममा एनआरएन अध्यक्ष शंकर पौडेलबाट सम्मान ग्रहण गर्ने अवसर मिल्यो । किरात याक्थुङ चुम्लुङ र किरात धर्म साहित्य उत्थान संघले मलाई सम्मान गरेको थियो । कुसुम हेर्नुहुने दर्शककहरूबाट अत्यन्तै राम्रो प्रतिक्रिया पाए । मेरो मलेसिया बसाईको सम्पूर्ण प्रबन्ध कलाकर्मीलाई जहिले पनि सम्मानजनक ढङ्गले हेर्नुहुने बरिष्ठ समाजसेवी दिलकुमार केरुङले गरिदिनु भएको थियो । क्वालालम्पुरको कोतारायामा उहाँले सञ्चालन गर्नु भएको परदेशी रेष्टुरेष्टमा मलाई बस्ने व्यवस्था मिलाउनु भएको थियो । उत रेष्टुरेष्टमा नेपालीहरूको आवत जावत धेरै हुदोरहेछ । अप्ठ्यारोमा परेको नेपाली दाजुभाईहरूलाई दिलकुमार केरुङले सहयोग गर्दै आउनु भएको रहेछ । दिलकुमार केरुङको जीवनसँगी सजना चम्लिङ पनि रमाईलो सहयोगी स्वभावको हुनुहुदो रहेछ । दिल सर र म चलचित्र प्रर्दशनको निम्ती विभिन्न स्थान जानुपथ्र्यो । सजनाजीले जहिले पनि हामीलाई सम्मानजनक ढङ्गले हेरेर सहयोग गरिरहनु भयो । उहाँ व्यवहारिक र समाजमा चाँडै घुलमिल गर्न सकिने महिला हुनुहुदो रहेछ । दिलसर र सजनाजीको छोरी नुमालाई म अहिले पनि सम्झन्छु । मलेसियन, अंग्रजी, नेपाली, र लिम्बू भाषा पाँच वर्षको कलिलो उमेरमा नै फरर बोल्थिन् । चञ्चले स्वभावकी नुमाले भविष्यमा केहि राम्रो काम गर्छिन् भन्ने मलाई बिश्वास छ । सोही क्रममा नेपालबाट जानुभएको दिलकुमार केरुङको बुबासँग पनि भेट भएको थियो । परदेशी रेष्टुरेष्टमा रहँदा बुबासँग मेरो कुराकानी भईरहन्थ्यो । दिलकुमार केरुङ साँच्चै नामजस्तै दिल भएको मानिस हुनुहुदो रहेछ । उहाँले मेरो मलेशिया यात्रामा धेरै सहयोग र साथ दिनु भयो । दिल सरले मलाई पेनाङ, केलाङ, जोहोरवारु, ग्यन्तिङ हाइल्याण्ड लगायत धेरै ठाउँको भ्रमण गराउनु भयो । म उहाँप्रति आभारी छु । उहाँले कुराकानीको क्रममा कहिलेकाँही भन्नुहुन्थ्यो –“सागर जी ! लिम्बूको छोराले लिम्बू चलचित्र निर्देशन गर्नु ठूलो कुरो होइन । तर तपाईले अर्कै जाति र भाषाको शेर्पा भाषाको सफल चलचित्र निर्देशन गरेर दुनियाँलाई नै देखाउनु भयो । तपाई अगाडी बढ्दै जानुहोस् तपाईलाई हाम्रो साथ रहनेछ ।”

मलाई लाग्थ्यो –दिलकुमार केरुङले कुसुम चलचित्रको सफलतालाई देखेर भन्नुभएको होला । जवाफमा मुस्कुराउँथे मात्र । कुसुम चलचित्र लामो समयसम्म मिहेनत गरेर निर्माण गरिएको चलचित्र हो । मैले संघर्षको क्रममा प्राप्त गरेको अनुभव र निर्देशकीय क्षमताको कारणले चलचित्रले राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बिदेशमा रहनु भएको नेपालीहरूले पनि चलचित्रलाई रुचाउनु भएको छ । त्यसैले दर्शकहरूको माया पाएको छु । दर्शकहरूको माया पाउनु नै मैले गरेको मूल्य हो । अनि दर्शकहरूको लागि केहि गर्नबाँकी जिम्मेवारी पनि हो ।

सिंगापुरमा भाईबुहारीबाट पाएको सम्मान
सिंगापुरमा मेरी सानीआमाको छोरा भाई जनता लिम्बूले सिंगापुर भ्रमणको निम्तो दिनु भएको थियो । भाई सिंगापुर पुलिसमा कार्यरत थिए । कुसुम चलचित्र हेर्ने र देखाउने रहर भाईसँग पनि रहेछ । दिलसरसँग केही दिनको बिदा लिएर जोहोरबारहुदै सिंगापुर प्रस्थान गरे । मुस्तफाबाट भाइले दिएको निर्देशन अनुसार गोर्खाक्याम्प (जिसी)मा पुगे । त्यहाँ जनता भाईसहित धेरैले मलाई प्रतिक्षा गरिरहेका थिए । सबै जनाले म सँग हार्दिकतापूर्वक परिचय गर्नु भयो । सिंगापुरको लाहुरे बसेको क्याम्पमा पुग्दा मेरो धेरै जिज्ञासा मेटिए । अति व्यवस्थित र सुरक्षित रहेछ सिंगापुर जिसी क्याम्प । सिंगापुर यात्रा गर्ने र नेपाली लाहुरेहरू बसेको हेर्ने रहर भाईले पूरा गर्दिएकोमा भाईप्रति म खुसी छु । सिंगापुर रहुँन्जेल बुहारी नरमाया आङ्बुहाङले बनाएको खाना खाने अवसर मिल्यो । खाना क्याम्पभित्र खाए पनि सुत्ने व्यवस्था बाहिरै हुन्छ किनभने पल्टनको नियम अनुसार पाहुना भित्र बस्न पाउँदैनन् रहेछ ।

सिंगापुरमा भाईबुहारीसँग मेरो पारीवारीक यात्रा पनि भयो । बुहारी नरमाया हसिली र बोल्ने स्वभावको हुनुहुन्छ । भाईबुहारीले नेपाली चलचित्र र कलाकारहरूको बारेमा जिज्ञासा राखे । मैले र आफूले जानेको र देखेको कुरा भनेँ ।

भाईसँगको भ्रमणमा गोरखा पल्टनको इतिहासदेखि सिंगापुर यो बिकासको गतिसँगै नव निर्माण भएर कसरी अहिले सिंगापुर भयो भन्ने जानकारी भयो । सेन्तोसा आइल्याण्ड, चिडियाघरलगायत प्रायः सबै स्मरणीय स्थानको भ्रमण गरियो । मैले मलेसिया र सिंगापुरको बिकाश देखेपछि के अनुभव भयो भने व्यवस्थित शहर ठूलोबाटो र चौबिसै घण्टा बत्ति छ । स्थाई सरकार भयो र नेता जनताप्रति उत्तरदायी भयो भने कुनैपनि देशको विकाश द्रुत गतिमा हुन्छ । मलाई हाम्रो देश नेपालमा यहि कुराहरूको अभाव खड्कियो । भाईबुहारीले दाजुप्रति दर्शाएको सम्मान र सहयोग म जहिले पनि सम्झिरहने छु ।

हङकङको रमाइलो
कुसुमलाई हङकङबाटै पहिलो विदेश यात्रा गर्ने हाम्रो योजना थियो । तर एकै समयमा अन्य देशबाट च्यारिटीको माग भएकोले विभिन्न देशको यात्रापछि मात्र हङकङ जाने तय भयो ।
हङकङमा कुसुम प्रदर्शन गर्न साथी हेमराज अन्छङ्बोसँग सल्लाह गरेँ । उहाँ याक्थुङ आर्टिष्ट सोसाइटीको अध्यक्ष पनि हुनुहुन्छ । हेमराजजीले मेरो कुरालाई सहर्ष स्वीकार्दै –“शेर्पा संस्कृतिको चलचित्र भएकोले शेर्पा संघ हङकङमार्फत आउनुहोस्, यहाँ आउनुभएपछि अरु सहयोग हामी गर्नेछौं ।” उहाँकै सल्लाहमुताविक शेर्पा संघ हङकङका अध्यक्ष पासाङ शेर्पालाई सम्पर्क गरियो । सम्पर्क भएको केही हप्तापछि चलचित्र प्रदर्शन गर्ने निर्णय भएको जानकारी प्राप्त भयो ।
वास्तवमा हङकङमा मेरो साथीभाईहरू धेरै हुनुहुन्छ । उहाँहरूले मलाई सहयोग गर्नुहुन्छ भनेर मलाई विश्वास थियो । कति साथीभाईहरूले चलचित्र प्रदर्शनमा सहयोग गर्ने वचन पनि दिनुभएको थियो ।
२०७२ वैशाखमा निर्माता फराडेण्डी शेर्पा सर म हङकङ प्रस्थान ग¥यौ । एयरपोर्टमा लाक्पा शेर्पा दाईसँग भेट भयो । उहाँ हङकङमा बस्नुहुँदो रहेछ । शेर्पा संघसँग पनि आवद्ध हुनुहुँदो रहेछ । उहाँले नै हाम्रो प्रस्थानविन्दु लुम्बिनी क्लव जोर्डन पुरयाउनुभयो ।

शेर्पा संघ हङकङका अध्यक्ष पासाङ शेर्पा दाजुले हामीलाई खादा ओढाएर स्वागत गर्नुभयो । चलचित्र प्रदर्शन तयारीको बारेमा पनि जानकारी गराउनुभयो । पासाङ शेर्पा स्थानीय समाजसेवीको रूपमा पनि चिनिनुहुन्छ । लाक्पा दाईले हामीलाई हङकङको सीम किनिदिनुभयो । फेसबुकमा मैले हङकङको नम्बर शेयर गरेँ । मेरो हङकङ यात्रा पहिलो भएकोले म निकै उत्साहित हुँदै रमाइलो अनुभव गरिरहेको थिएँ । केही समयपछि मेरो साथीभाईहरू लगातार सम्पर्कमा आउन थाल्नुभयो । हेमराज अन्छङ्बो, सुमन वनेम, नन्द चङ्सु भेट्न आउनुभयो । र सोहीदिन साँझ उहाँहरूले एउटा नेपाली कार्यक्रममा लिएर जानुभयो । त्यसपछि फुलबारी क्लवमा गयौं, सो क्लवका सञ्चालक नन्द चङ्सु हुनुहुँदोरहेछ । त्यहाँ मेरो छिमेकी बहिनी माया खापुङ केही साथीहरूसँग मलाई भेट्न आइपुगिन् ।

चलचित्र प्रदर्शनको आयोजना शेर्पा संघ भएपनि संयोजनको भूमिका किरात याक्थुङ चुम्लुङ हङकङ र याक्थुङ आर्टिष्ट सोसाइटीले गरेको थियो । मे १५ र १६ तारिख दुईदिन कुसुमको भव्य प्रदर्शन भयो । हङकङको दर्शकहरूले चलचित्रलाई प्रसंशा गर्नुभयो । निर्माता र निर्देशकलाई बधाईको ओइरो नै आयो । दर्शकको प्रतिक्रिया पाएर हामी सन्तुष्ट थियौं । हङकङमा लिम्बू दाजुभाई तथा दिदीबहिनीको सहयोग र सहकार्यमा जिन्दगीमा कहिल्यै पनि भुल्न नसक्ने गरी पायौं । चारपाँच जनाको ग्रुप भए हामीलाई विभिन्न स्थानमा घुमाउनु भयो । हेमराज अन्छङबो, नन्द चङ्सु, माया खापुङ, लिलिस कन्दङ्वा, मौसम इम्बुङ, गीता पालुङ्वा, रमेश सिंगक, मनुता काम्बाङ बहिनीहरुले बिग बुद्ध, ओसन पार्क, सामुद्रिक यात्रालगायत धेरै स्थानको भ्रमण गराउनु भयो ।

किरात याक्थुङ, चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङ्वाले उहाँको निजी कारमा विभिन्न ऐतिहासिक स्थल, चीनको सिमानाको यात्रा र एउटा चिसो डाँडाबाट देखाउनु भएको यात्राको दृश्य हाम्रो कुसुम यात्रामा बिदेश अविश्मरणीय रहे । माया बहिनी, हेमराज तथा राजु आङ्देम्वेले बेग्ला–बेग्लै डिनरको व्यवस्था गर्नुभएको थियो । मौसमजीसँग रातको ३ बजे सम्म हङकङ मै निर्माण भएको चलचित्र हेरियो । हङकङका दर्शकहरूको चलचित्र प्रति क्रेज राम्रो पाएँ । उनीहरू समय मिल्यो कि टिकट काटेर चलचित्र हेर्ने रहेछन् । कला र कलाकारहरुप्रति उहाँहरूको ठूलो सम्मान रहेछ ।
शेर्पा सङ्घ हङकङका अध्यक्ष पासाङ शेर्पा दाई, लुम्बिनी क्लवकी गुरुङनी दिदी, छिमेकी गाउँले भाईहरु जितेन लिम्बू, आइत खजुम र कुसुम चलचित्रको समिक्षा गरिदिनुहुने तथा एचके दर्पणको लागि अन्तर्वार्ता लिनुहुने दाजु इन्द्र लक्समप्रति आभारी भएँ ।

हङकङको बसाईक्रम पूर्ण व्यस्ततामै बित्यो । यसबिचमा लिम्बू साथीहरुले नै पालो परयाउन सकेनन् । हाम्रो योजना त त्यतिकै भयो भनेर पासाङ शेर्पा दाजु भनिरहनुभएको थियो ।

समग्रमा हाम्रो कुसुम चलचित्र प्रर्दशन हङकङ यात्रा सफल रहयो । धेरै साथीभाई तथा आफन्तले फोनमार्फत खाना खान र भ्रमणको आग्रहलाई समय अभावले गर्दा पुरा गर्न सकिएन, उहाँहरूको आग्रह नै हाम्रो लागि ठूलो कुरा हो ।

किरात यक्थुङ चुम्लङ र शेर्पा संघ हङकङले गरेको सम्मानले मेरो यो क्षेत्रमा अझ दायित्व वढेको छ । र, आगामी दिनमा पनि यस्तै सृजनशील काम गर्दै जाने प्रयास गर्दछु ।

चलचित्र क्षेत्र एउटा यस्तो बृहत क्षेत्र हो । यस भित्र प्राप्त हुने हरेक अनुभवले मानिस भित्र अर्को अनुभव जन्मिरहेको हुन्छ । यस्तै अनुभव प्रप्त गर्नुको साथै आफ्नो समाज भाषा संस्कृतिको संरक्षण र उत्थान गर्ने अनि दर्शकहरूलाई मनोरञ्जन प्राप्त गर्नको लागि चलचित्रको ठूलो योगदान रहन्छ । संस्कृतिमूलक मैलिक चलचित्र कुसुमले यो कुरा प्रमाणित गरेर देखाएको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

डाँफे सहकारीकाे नाफा करोड माथि

Read Next

काेराेना कहर : राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट नबाड्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *