झापामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
कनकाई नगरपालिका-३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।
झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको सम्भवत् यो पहिलो घटना हो।
नगरप्रमुख पोखरेलका अनुसार १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई कोरोना पुष्टि भएको छ। घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले होम आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्याएको छ। नगरप्रमुख पोखरेलले आफैं खाद्यान्न सामग्री पुर्याएका हुन्।
नगरप्रमुख पोखरेलले अस्पतालमा रहेकाका लागि पनि आवश्यक सामग्री पठाइएको बताए।
कनकाई नगरपालिकामा समुदायमा कोरोना फैलिएको छ। सबभन्दा बढी वडा नम्बर ३ प्रभावित भएको नगरपालिकाको सूचना शाखाले जनाएको छ ।
कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ८ जना होम-आइसोलेसन, १ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अर्का एक जना इलाम नगरपालिकाले स्थापना गरेको नगरस्तरीय आइसोलेसनमा रहेका नगरप्रमुख पोखरेलले बताए।
उनले भने, ‘संक्रमित सबैको अवस्था सामान्य छ।’