add

कथा : पुतली

म छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो ।

सम्बन्ध बिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ ।

अनामिका भएको महिनादिनसम्म मेरो हरेक समय संक्रमणकालीन रह्यो । कयौंदिनसम्म त म आधा गारो भत्किएर ढल्न लागेको घरजस्तै कमजोर भएँ । थुपै्र दिनहरु एक्लोपनको भयले असुरक्षित महसुस गर्दै बिते । तिरस्कृत हुनुको पीडाले कयौं रात सुत्न सकिनँ । आफ्नैहरुले काटेका अनेकौं कुरा सुन्दा-सुन्दा टाउको एक मनको ढुंगोले थिचेझैं भयो । आफन्तहरुका त्यस्ता मनगढन्ते कुराहरुबाट आउँने दिनहरुमा छोराछारीलाई कसरी सम्हालौंला भनेर अत्यास लाग्यो । त्योभन्दा बढी त यक्तिका बर्षसम्म ओझेल परेको आफ्नै परिचय अब एकाएक कसरी स्थापित गरुँला भनेर अत्यन्तै पीर लाग्यो ।

यसरी पीरमाथि पीर बोकेर कैयौं दिन आफ्नो नयाँ परिचयका लागि म निकै घोत्लिएँ, हड्बडाएँ अनि डराएँ पनि । तैपनि मसँग समयको गतिसँगै आफुभित्रको डरलाई किनारा लगाउँदै जानुको अर्को विकल्प थिएन । किनकि मैले जीवनको एउटा लामो अध्यायमा पूर्णबिराम लगाइसकेकी थिएँ ।

दोस्रो विकल्प नभेटेपछि मैले बिस्तारै हिजोको लेखाजोखा गर्न छोडेँ र ‘हामी’ बाट ‘म’ मा फर्किनुलाई नै आजसम्मको समग्र उपलब्धी मानेँ । अब मैले त्यही मानार्थ उपलब्धीलाई आधार बनाएर मेरो जीवनको एक नयाँ अध्याय शुरुवात गर्नु थियो । त्यसैले एकमहिना एघार दिन बिरामी बिदा लिएर बसेको जागिरमा ढिलो नगरी फर्किने योजना मनमा बनाएँ ।

म अफिस जाने भएँ ।

लेखिका

मनकै मर्जी ! हो, म आज मनकै मर्जीको दह्रो ढलानमाथि उभिएकी थिएँ । त्यही ढलानबाट मैले आफ्नै मनलाई सुनेँ र भर्खरै सरेको घरको सानो कोठाको ठूलो ऐनालाई साक्षी राखेर अफिस जानका लागि तैयार हुन थालेँ । सधैँ ऐना अगाडि उभिँदा आफ्नै बिम्बमा पनि अरु देख्ने मान्छे म, आज केवल आफूलाई मात्र देखिरहेकी थिएँ ।

आज मेरो अनुहारमा कसैलाई खुशी पार्नुपर्ने नियमहरुको जालो लागेको थिएन । अरुको चित्त बुझउँनु पर्ने सिद्धान्तले मेरो श्रृगारलाई निर्देशित गरिरहेको थिएन । आफ्नो सुन्दरताको अनुमोदन कसैबाट गराउँनु पर्ने पनि थिएन । न प्रशंसाको मृगतृष्णामा दगुर्नु थियो न त आलोचनामा दुःखी हुनु थियो । कसैका लागि हार्नु पनि थिएन । जित्नु त झनै थिएन । यस्तो सबैथोकको तटस्थताबिच म केवल अनामिका भएकी थिएँ ।

यस्तै कुराहरु मनमा खेलाउँदै गर्दा मेरो छिट्टो छरितो तैयारी मिलिक्कै सकियो । म घरबाट निस्किएँ ।

जीवनको अत्यन्तै असजिलो समयको खोलभित्र महिनादिनभन्दा बढी एक लार्भाझैं खुम्चिएर बसेकी मान्छे म ! यतिबेला आफ्नै निर्देशनमा आफू हिड्ने बाटो तयार गरेर अफिस जाने बाटोमा हिँडिरहँदा कसोकसो मलाई आफु एक पुतलीमा परिणत भएको अनुभुत भैरहेको थियो ।

“अहो, त्यो फुर्र-फुर्र उड्ने रङ्गीन पुलती ! त्यसका सुन्दर पखेटा र माथिको खुला आकाश !!”

बाटो हिँड्दै गर्दा मेरो मानसपटलमा पुतलीको सुन्दरता, सामथ्र्य र स्वतन्त्रता खेल्न थाले । केटाकेटीमा आमाले पुतली समाएर ल्याउँन अह्राएको पनि संझिएँ । आमालाई बगैँचामा उडिरहने ठुल्ठुला छिर्केमिर्के पुतलीहरुलाई समातेर ल्याई फ्रेमभित्र हालेर घर सजाउँने मन थियो । उनको यस्तो रहर पछाडिको कारण मलाई थाहा थिएन र मैले कहिल्यै त्यो कारण जान्ने प्रयास पनि गरिन । बरु म आमाको त्यो ईच्छा पूरा गर्न हरेक शनिबार दिउँसो पुतली समात्न घरको बगैँचा र स्कूलको चौरतिर साथीहरु जम्मा पारेर निस्कन्थेँ । कयौं घण्टाको अनवरत प्रयासपछि मुश्किलले एउटा दुईटा पुतली समातिन्थे । म ती पुतली लगेर आमाका हातमा दिन्थें । आमा खुशी हुन्थिन् ।

केटाकेटी न परेँ ! त्यसबेला मेरो मस्तिष्कमा आमाको रहर, पुतलीको आकार र रङ्ग बाहेक अरु केही थिएन । एउटा सामान्य लार्भाबाट भएको पुतलीको कायापलटलाई फिटिक्कै बुझेकी थिइनँ मैले । तसर्थः आमालाई खुशी पार्नकै लागि पनि मेरो उद्देश्य सधैं ठुला र चहकिला छिर्केमिर्के रङ्ग भएका पुतलीहरुलाई लखेटी-लखेटी समात्नु हुन्थ्यो ।

परिस्थिति र समय दुवै अलग भएको छ अहिले । आमा बुढी भएकी छन् । उनको पुतली फ्रेममा हालेर घर सजाउँने रहर समाप्त भैसकेको छ । म, जीवनको दोस्रो चरण सकेर तेस्रो चरणतिर उन्मुख छु । भनौं, पुतलीको कायापलटको शिलसिलामा पुरानो शरीर त्यागेर नयाँ शरीरको निर्माण गर्ने सिद्धान्तलाई बुझ्ने भएकी छु । तिनलाई लखेटेर समात्न होइन, तिनको स्वतन्त्र उड्न पाउँने प्राकृतिक हकलाई स-सम्मान स्वीकार्ने पनि भएकी छु ।

पुतलीलाई मैले एक दिनमा बुझेकी कहाँ हो र ! बोटबिरुवाका स-साना पातमा थुपि्रएका डिम्माहरुबाट घिनलाग्दो झुसिल्किरोमा परिणत हुँदै कोकूनको अँध्यारोभित्र बन्दी भएर भुँईमा घिसि्रने झुसिल्किराका सयौं खुट्टा त्यागी संपूर्ण स्वरुपै बदलेर पुतली भई उड्नु सहज कुरा होईन भन्ने बुझ्न मलाई निकै समय लाग्यो । आफ्नो नव निर्माणका लागि बन्दी हुनु परेको कोकूनभित्रको अन्धकारमा पनि अनवरत खटेर सुन्दर पखेटा लिएको पुतली कोकूनबाट बाहिरिन्छ भन्ने त मैले भर्खरै मात्र बुझेकी ।

ढिलोचाँडो जे होस्, म जीवनको यस विन्दुमा आइपुग्दा अनेकौं उतार चढाब झेलेर अघि बढ्न सक्ने पुतलीको अद्भुत क्षमताबाट अत्यन्तै प्रभावित भएकी छु । त्यसैले अन्त्यहीन सम्भाब्यता भएको, जीवन्त खुशी बोकेको, परिवर्तन, रचनात्मकता र अग्रपथको प्रतीक पुतली मेरो मार्गदर्शक बनेको छ ।

हरे ! पुतलीको जीवन खोतल्दा-खोतल्दै अफिस भएको मोड छोडेर निकै अगाडि पुगिसकीछु म । आफ्नै हुस्सुपनसँग लाज मानेर कान राता पार्दै फेरी अफिस पुग्ने बाटोतिर मोडिएँ ।

०००
“ए तपाईं पो !”

रविराजसँग बाटैमा भेट भयो ।

सधैं मेडम नमस्कार भनेर देख्ने बित्तिकै हात जोड्ने रविराजले यसरी ‘तपाईं पो’ भनेर सम्बोधन गर्दा मनमा कताकता चिसो पस्यो ।

“हो ! म नै हो ।”

मैले पनि उसकै पारामा जवाफ फर्काएँ र अगाडि बढेँ । रविराजको कार्यकक्ष तल्लो तलामा र मेरो माथिल्लो तलामा भएकाले उसँग अरु दोहोरो संवाद गर्नुपर्ने जरुरी भएन मलाई । म उसलाई तलै छोडेर आफ्नो कार्यकक्षतिर लागेँ ।

कोठामा पसेपछि चारैकुनामा एक नजर लगाएँ । झ्यालमा झुण्डिएको पर्दादेखि कोठाको ढोकाको भित्री भागतिर कोट र हाते ब्याग झुण्ड्याउने किला, टेबलमाथिका कलम, पेपरवेट, टेबलमुनिको रद्दीको टोकरी, सेवाग्राही बस्ने कुर्सी अनि सिलिङ्गमा झुण्डिएको पंखा सबैथोक उस्तै लागे ! यी सबै-सबैले मलाई पहिलेजस्तै मायालु स्वागत गरे । मेरो स्वागतका लागि ती निर्जीब बस्तुहरुलाई बोलीको आवश्यकता परेन ।

मान्छेकोभन्दा कोठाका निर्जीब बस्तुहरुको त्यो मूक स्वागत साँच्चै न्यानो लाग्यो मलाई । मैले त्यो न्यानोपनलाई महशुस गरिनसक्दै सजीव बर्चस्व भएका केसीजी मेरो कोठामा टुप्लुक्क आइपुगेँ ।

“अहो ! के हो ? तपाईंको त लोग्नेसँग छुटानाम भयो रे नि…? के हो चक्कर !” केसीजी यति उत्साहित थिए कि मानांै उनी मेरो यही क्षणको प्रतिक्षामा थिए ।

“हो । मेरो लोग्नेसँग छुटानाम भयो ।” मैले भने ।

“ल…ल…तपाईंकै छन् दिन अब !”

केसीजीले मेरा दिनहरु खै कसरी देखे कुन्नि ? मौखिक पात्रो बनाएर प्रस्तुत गर्दै मेरो कोठाबाट निस्किए ।

मैले केसीका शब्दहरुलाई मेरो मनको गहिराई नाप्नै दिइनँ । मेरालागि केसीजीको उपस्थिति बुटजुत्ता लगाएर जंगलमा शिकार गर्न हिँडेको शिकारी बराबर थियो । शिकारीको प्रवृति नै कुल्चिने, ताक्ने, चिथोर्ने, लुछ्ने अनि मार्ने ! यस्तो प्रवत्ति भएको शिकारीले कति पुतलीका डिम्बा भएका रुखबिरुवाका पात, हाँगा लुछ्दै र किल्चदै हिँडे होलान् ? तर, पुतली पलायन भएको छ र ?

म पुतली ! केसीजी शिकारी !! मैले चित्त बुझाएँ ।

धेरैदिनको अन्तरालपछि मेरो काम शुरु भएकाले मेरो कोठामा सेवाग्राहीहरुको चाप थिएन । दुईचार जनालाई सेवा दिएपछि खाजा खाने समय भयो । क्यान्टिनमा झरेँ । केसीजी र रविराज मभन्दा पहिले पुगिसकेका रहेछन् ।

म तिनको छेउको टेबलमा बस्नु नपरोस् भन्ने चाहन्थें । यसो हेर्दा क्यान्टिनको काउन्टरको कुनामा दुईटा मात्र कुर्सी भएको टेबलमा सुवर्णा मेडमलाई खाजा खाँदै गरेको देखेँ । त्योभन्दा उचित ठाउँ र व्यक्ति अरु नहुने देखेर मैले छिटोछिटो त्यतैतिर पाइला बढाएँ ।

“लौ ! अनामिका, हैन कता हराएकीथ्यौ भन्या ? ल बस बस । ” मेडमले खाली कुर्सीतिर देखाउँदै उही ‘भन्या’ को थेगो जोडेर बोलिन् ।

“कहाँ हराउनु र ! त्यस्तै-उस्तैमा ब्यस्त भएर…!” मैले पनि कुर्सी तानेर बस्दै भनेँ ।

“हेर…! तिम्रो त घरबारै पो टुटेछ ।” मुखमा हालेको खाजाको बुजो चपाउँदै उनले भनिन् -“मलाई त रविराजले पो कसैलाई नभन्नु है मेडम भनेर खुसुक्क सुनाएको ।”

“हो त मेडम ।” मैले यत्ति भनेँ ।

“सानोतिनो ठाकठुक त हामी आईमाईलाई नै सहनु भन्छन् ।” चम्चाले खाजाको प्लेट कोतर्दै मेडमले थपिन् -“जे भए नि तरुनी-बरुनी नै छौ, एउटा न एउटाले लगिहाल्छ , पीर नगर ।”

सुवणर्ा मेडमको निर्णयात्मक प्रतिकृया सुन्दा मेरो शरिरभरि काँडा उमि्रए । उनले कसरी सानोतिनो ठाकठुकमै सम्बन्धविच्छेद भएको निष्कर्ष निकालिन् ? कसरी उनले मलाई एउटा न एउटासँग गैहाल्छु भन्ने सोचिन् ?

यस्तो सोच उनको दिमागमा आइरहँदा उनले त मलाई एक आमासम्म देखिनन् , एक राष्ट्रसेवी कर्मचारी पनि देखिनन् । न त एक सचेत नागरिक, न एक शिक्षित व्यक्ति नै देखिन् । देखिन् त केवल एउटा न एउटाले लगिहाल्ने तरुनी-बरुनी ! ‘लानु’ र ‘जानु’लाई जीवन देख्ने सुवर्णा मेडमको सोचप्रति दया लाग्यो मलाई ।

खान्दानी परिवारकी बुहारी भएर महलजस्तो घरभित्रबाट जीवनको शुरुवात गरेकी सुवर्णा मेडमले महल मात्र बुझेकी छन् । उनका फूलबारी र बगैँचा त मालीले स्याहार्छन् रे । फूलबारी नदेख्नेलाई पुतलीको संसार बुझिराख्नुपर्ने के जरुरी र  ?

म पुतली ! सुवर्णा मेडम खान्दानी बुहारी !! मैले चित्त बुझाएँ । तर, मलाई सुवर्णा मेडमका साथ धेरैबेर बस्नु उचित लागेन । त्यसैले कफी पिई नसक्दै पैसा तिर्न काउन्टरतिर लागेँ ।

“मेडमको कफीको पैसा रविराज सरले तिरिसक्नुभएको छ ।” काउन्टरमा बसेको केशरीलालले मुसुक्क मुस्काउँदै भन्यो ।

केशरीलालको कुरा सुनेर भर्खरै पिएको तातो कफी नै शरिरभरि खन्याएको अनुभुति भो मलाई । तन र मन दुवै भतभत पोल्यो ।

“आइन्दाबाट मेरो खाजाको पैसा मैले थाहा नपाई अरुबाट लिने काम नगर्नु, केशरीलाल ।” मैले रिसाउँदै भनेँ ।

“हस् मेडम ।” केशरीलाल बोल्यो र छेउमै उभिएको वेटरसँग मुखामुख गरेर हाँस्न थाल्यो ।

थाहा नपाई कसैको निगाहको कफी आधा पिएकोमा अत्यन्तै ग्लानी भयो मलाई । त्यसमाथि केशरीलाल र वेटरले मुखामुख गरेर हाँसेको पटक्कै चित्त बुझेन । रविराजले मेरो कफीको पैसा तिर्नुलाई एक दुर्घटना सम्भिmँदै म आफ्नो कार्यकक्षमा फर्किएँ ।

संसारको खाद्य उत्पादनलाई परागशेचनबाट टिकाइराख्ने पुतलीको क्षमता एकाउन्टिङ्ग पढेको रविराजले के बुझोस् ।

म पुतली ! खजाञ्ची रविराज !! म चित्त बुझाउँदै खाजा खाने समयलाई छोट्याएर कार्यकक्षमा फर्किएँ ।

‘जीवन रोमन रोडझैं सीधा कहाँ रहेछ त खोई ?’

म एक्लै बडबडाउँदै टेबलमा आइपुगेका फायलहरु पल्टाउन थालेँ । फायलका केही पानाहरु पल्टाउन नपाउँदै करिडोरमा टकटक जुत्ता बजेको सुनियो । मलाई भने पल्टाउँदै गरेको फायल पुरै अध्ययन गरिनसक्दै सेवाग्राही कोठामा नआइदियोस् भन्ने थियो । भने जस्तो कहाँ हुन्थ्यो ? त्यो टकटक गर्ने जुत्ताको आवाज मेरो चाहना विपरीत कोठाभित्र पसिसकेको थियो ।

“पीआर सर ! नमस्कार ।” मैले हडबडाउँदै अभिवादन गरेँ ।

मेरो कोठाभित्र आइपुगेको जुत्ताको आवाज कुनै सेवाग्राहीको नभएर मेरो अफिसको कार्यकारी प्रमुखको थियो । उनको एकाएकको उपस्थिति देखेर अघिसम्मको सग्लो मेरो आत्मबल बिस्तारै चोइटिन लाग्यो ।

“नमस्कार !” पीआर सर मेरो अभिवादन फर्काउँदै टेबल सामुन्ने सेवाग्राही बस्ने कुर्सी तानेर बसे र मलाई पनि आफ्नो कुर्सीमा बस्न आदेश दिए ।

उनको आदेश मान्दै कुर्सीमा बसेँ । हामी आमने-सामने भयौं ।

“तपाईंको पारिवारिक बिखण्डनप्रति दुःख लाग्यो ।” सान्त्वनाबाट कुरो शुरु गरे उनले ।

रविराज, केसीजी र सुवर्णा मेडमकोभन्दा पीआर सरको अभिव्यक्ति सभ्य लाग्यो मलाई । त्यसैले उनीतिर हेर्दै भनेँ -“सरको सहानुभूतिका लागि धन्यबाद ।”

“तपाईंले आफूलाई एक्लो नठान्नू होला । काममा केही असजिलो परे मलाई सिधैं सम्पर्क गर्नु होला । यो मेरो निजी नम्बर हो ।” कोटको भित्री गोजीबाट भिजिटिङ्ग कार्ड निकालेर मेरो हातमा थमाउँदै उनले भने- “आर्थिक समस्या भए पनि भन्न नहिकिचाउनु होला ।”

यति भनेर उनले मेरा दुवै हात बेस्सरी अँठ्याए अनि कोठाबाट बाहिरिए ।

उनको दोहोरो चरित्रलाई देखेर म विस्मित भएँ । आजसम्मको मेरो बुझाइमा हाकिम भनेको शक्तिकेन्दि्रत र आफूभन्दा कमजोरहरुलाई सीमांकृत गर्ने एउटा ओहोदा भन्ने मात्र थियो । आज बल्ल थाहा पाएँ कि हाकिम भनेको त अर्काको स्वभिमानी टाउको फोरेर मुटु नै गिजोल्न पुग्ने गिद्धे आँखा भएको फोहोरी पंक्षी पनि पो हुँदोरहेछ ।

उसलाई के थाहा पुतलीको अत्यन्तै चलायमान र पोलराईज्ड किरणहरुलाई देख्न र बुझ्न सक्ने आँखाको अनौठो क्षमता ।

पीआरका गिद्धे आँखा, म पुतली ! मैले चित्त बुभाएँ ।

अबचाहिँ जति नै चित्त बुझाउँन खोजे पनि मेरा सहकर्मी तथा आदरणीयहरुको खोक्रो शैक्षिक योग्यता, बौद्धिकता, समझदारी र सामाजिक प्रतिष्ठालाई म साँच्चै घृणा गर्ने भैसकेकी थिएँ । पीआर, केसी, सुवणर्ा र रविराजको ब्यवहार र सोच देख्दा मलाई यस्तो लाग्यो कि म बाँचेको समाज महिलालाई सोच्ने क्षमता सम्पन्न एक मानवभन्दा अनेकौं समस्याबाट शिकार भएको पीडित नमुनाको रुपमा हेर्न उद्यत छ ।

मैले निराश हुँदै पुनः पुतली सम्झिएँ ।

“के मैले पुतलीको वातावरणीय प्रतिकुलतालाई अत्यधिक ग्रहण गर्ने क्षमता र जीवनलाई निरन्तरता दिनका लागि अनेकौं परिवर्तनबाट गुजि्रनुपर्ने बाध्यतालाई बिर्सन हुन्छ ? हावामा निर्धक्क उड्ने तिनको क्षमतालाई सामान्य मान्न मिल्छ ? एक खोस्टोभित्रको अन्धकारमा कैदी भएर पनि आफूलाई सुन्दर बनाई बाहिर निस्कने पुतलीलाई नजरअन्दाज गर्न मिल्छ ? झुसिल्किराका सयौं खुट्टाहरुले पनि पुतलीलाई उड्नबाट रोक्न नसकेको यथार्थ नजानेझैं गर्न सुहाउँछ ? सयौं खुट्टाको शक्तिलाई पराजित गरेर पखेटा लिई उड्न सफल हुनुभन्दा सुखद र सर्वोकृष्ट प्राप्ति अरु के कल्पन सकिन्छ ?”

वरिपरि पुतलीको संसार नबुझ्नेहरुको बर्चस्व भएका बखत मेरा यी तमाम प्रश्नहरु ब्यर्थका थिए । तापनि यतिबेला मैले आफूलाई पुतली बाहेक अरु केही कल्पनै गर्न सकिरहेकी थिइनँ । तसर्थ : रविराजदेखि पीआरसम्मले चोइट्याउँन शुरु गरेको मेरो आत्मबल र आत्मसम्मानलाई धैर्य भएर बेस्सरी कसेँ, सुम्सुम्याएँ र मनमा भएका पीडाका रहल-पहल धर्साहरुमा आफ्नै स्नेहको मल्हम लगाएँ ।

दह्रो प्रयास पश्चात मैले आफूलाई बिहान घरबाट निस्कँदाको जत्तिकै बलियो बनाएँ र म पुतलीजस्तै हलुङ्गो भएर कार्यकक्षबाट बाहिरिएँ ।

मलाई बाहिर सडक किनारामा निस्किएको मिनेट नहुँदै कसैले गाडीको हर्न बजायो । सडकको छेवैमा रोकेको गाडीबाट हर्न बजेको सुनेर मुन्टो फर्काएँ । गाडीभित्र त मेरा पुराना छिमेकी श्रीधर पो रहेछन् ।

“आउँनुस् ! म छोडिदिन्छु घरसम्म ।” गाडीको झ्यालको सिसा तान्दै वरपर हिँडेका मान्छेहरुले सुन्ने गरी बोले श्रीधरजी ।

“तपाईंले दुःख गर्न पर्दैन । म आफ्नै हिसाबले जान्छु ।” मैले भनेँ ।

“के हो ? दिउँसै घरमा बोलाएर दुनियाँसँग गोप्य भेट्न हुने अनि हाम्ले चाहिँ घर छोडिदिने भन्दा पनि नाई भन्दिने ?”

श्रीधरले सडक किनारा पनि भनेनन् । उनले मलाई गाडी रोकेर अनेकथोक भनिरहँदा उनकी ५० कट्न लागेकी श्रीमती पनि बिर्सिए । बिवाहित छोराबुहारी र नातिनातिना पनि बिर्सिए । आफ्नाो सामाजिक दायित्व बिर्सिए । नैतिकता बिर्सिए र पुरानो छिमेकी हुनुको नाता पनि बिर्सिए ।

उनले सबथोक बिर्सिरहँदा मैले पुतलीको जीवनको कायापलट सम्झिरहेँ र श्रीधरको गाडीलाई छोडेर अनेकथोक छिचोल्दै म सुरक्षित घर पुगेँ ।

दुबै छोराछोरी मभन्दा पहिल्यै कलेजबाट फर्किका रहेछन् । उनीहरुलाई देखेपछि मन शान्त भयो । लुगा पनि नफेरी म उनीहरु बसेको सोफातिर हान्निएँ । छोराछोरी दुवैलाई बेस्सरी अँगाले । त्यसपछि दुवैलाई राखेर सेल्फी पनि लिएँ ।

त्यो सेल्फीमा मैले दुईतिर बसेका मेरा छोराछोरीमा आफ्नो जीवन अगाडि बढाउने शक्तिको गहिरो मुहान देखेँ ।

मलाई छोराछोरी अँगालेको त्यो सेल्फी फेसबुकमा पोस्ट गर्ने विचार आयो । सोसियल मिडिया नचलाएको दुई महिना भैसकेको थियो । पुराना पोस्टहरुलाई धेरै छाँटकाँट गर्नु परेकाले एकाउन्ट निस्किय बनाएकी थिएँ । मैले ल्यापटप अन गरे अनि फेसबुकमा लग ईन पनि गरेँ । ५० प्लस नोटिफिकेसन देखिए । मेसेन्जरमा पन्ध्र प्लस मेसेज देखिए ।

फोटो पोस्ट गर्नुभन्दा पहिले मेसेन्जर बक्स खोलेँ । मेसेन्जर रिक्वेस्टमा दुईटा मेसेज रहेछन् । तिनैलाई पहिले खोलेँ ।

“आज अफिसमा तिमीसँग भेटेर खुशी लाग्यो । भोलि बेलुकीको डिनर मसँग है ! त्यही अनुसार तयार भएर आऊ ।” यति लेखेर पीआरले लभको ईमोजी छेउमै टाँसेछ ।

यो देखेर मलाई केही अनौठो लागेन । किनकि उसले आफ्नो चरित्र दिउँसै देखाइसकेको थियो । मैले पीआरको मेसेज तुरुन्तै डिलिट गरेँ ।

त्यसपछि रविराजको मेसेज देखियो, पुरानो साथीको मेसेज पनि देखियो । भर्खर चिनेका भर्चुअल साथीहरुको पनि मेसेज थियो । मानेका आदरणीयको पनि मेसेज थियो ।

मलाई ती सबै मेसेजहरु सुरुङ्गभित्र लुकाएका बम जत्तिकै लागे । मलाई बम बिस्फोटमा परेर अन्त्य हुनु थिएन । मैले त पुतली हुनु थियो । त्यसकारण कुनै मेसेजलाई खोल्दै नखोली सबैलाई डिलिट गरिदिएँ । तर, मलाई सबै दोहोरो चरित्र बोकेका पात्रहरु सम्झेर रातभर निन्द्रा परेन । धेरै प्रयत्न गर्दा पनि मेरो मानसपटलमा आफू सुरक्षित रहन सक्ने कुनै आधारहरु खेल्न सकेनन् ।

मैले भोलिपल्टै छँदाखाँदाको जागिरलाई राजीनामा पठाएँ । त्यसको एक बर्ष आठ महिनापछि म उडेँ – पुतली भएर । मसँगै मेरा छोराछोरी पनि उडे ।

०००

आज साढे पाँच बर्ष कटिसके छ म स्वीडेन बस्न थालेको । मेरो जीवनमा पुतलीको प्युपा बनेर आएको त्यो स्वीडिस प्रोजेक्टले मलाई पुतली बनेर उड्ने मानसिक, सामाजिक र आर्थिक सबै बल दियो । अहिले छोराले अष्ट्रेलियाबाट आईटी ईन्जिनियरिङ्ग सकेर जर्मनीको साइमन कम्पनीमा काम गर्न थालेको छ । छोरी ईन्टर्नशिप गर्न क्यानडा पुगेकी छ ।

मेरा अनेकौं पुरुष सहकर्मी छन् । ती सबैलाई म सम्बन्धबिच्छेद गरेर बाँकी जीवन आफ्नै हिसाबमा बाँच्न चाहने महिला भनेर बुझेका छन् । उनीहरुले मलाई त्यहीरुपमा आदर र सम्मान गर्छन् । म कहीँ असुरक्षित महशुस गर्दिनँ । मेरो आत्मबलमा कत्ति पनि कमी पाउँदिनँ । पाँच वर्षको लामो अवधिमा उनीहरु कसैले मेरो आत्मसम्मानमा चोट पुर्‍याउने एक शब्द भनेका छैनन् ।

भोलि कसैसँग जीवन जोड्न चाहेँ भने म स्वतन्त्र छु । त्यो मेरो नितान्त व्यक्तिगत निर्णय हुनेछ ।

जीवनको प्रतिकुलताले मान्छेलाई जे सिकाउँछ, त्यो संसारको कुनै विश्वविद्यालयले सिकाउँन सक्दैन । मलाई जीवनले आफ्नै हकमा बाँच्न सिकायो । जीवनले नै मलाई अर्काको माटोमा साँच्चै पुतली भएर उड्ने स्वतन्त्र आकाश दिलायो । मन लाग्दा खुट्टा बिसाउने धर्ती दिलायो ।

हो ! म अहिले साँच्चै सुन्दर पुतली भएकी छु ।

(लण्डन, बेलायत)


कमेन्ट गर्नुस्

admin

Read Previous

गौरादह हत्या प्रकरणः पाँच दिन बितिसक्दा पनि हत्यारा पत्तो लागेन

Read Next

सन्तोषले दिएको सेनिटाइटर र माक्स लगाँउदा सरस्वतीका बिद्यार्थी दंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *