माईधार / शिवसताक्षी नगरको माईधारमा माछापुच्छ्रे बैंकले सेवा सुरु गरेको छ ।
शाखा रहितको बैंक स्थापना गरेर सो बैकले सेवा सुरु गरेको हो । सोमवार शिवसताक्षीका नगर प्रमुख चन्द्रकुमार सेर्माले माछापुच्छ्रे बैंकको बैकिङ सेवाको उद्धघाटन गरेका हुन् ।
माईधारमा बैंंक स्थापना भएपछि शिवसताक्षी नगरपालिका वडा नम्बर १० का कम्तिमा ७०० सामाजिक सुरक्षा भत्ता लिने नागरिक लाभान्वित हुने छन् । वडा नम्बर १० मा बैंक नहुँदा स्थानीय वडाबासीले दुधे वा सुरुङ्गा सम्म पुगेर बैकिङ्ग सेवा लिने गरेका थिए ।
पर्यटकीय क्षेत्रका रुपमा परिचित माइधार क्षेत्रमा पहिलोपटक शाखा रहितको बैंक स्थापना हुँदा स्थानीयले आफ्नै वडाबाट बैकिङ सुविधा पाउने भएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा माछापुच्छ्रे बैँकका १ नम्बर प्रदेश कार्यालयका सहायक प्रमुख मुकेश थापाले शाखा रहित बैङ्गिक सेवाबाट खाता खोल्ने , पैसा राख्ने, झिक्ने, ऋण माग गर्ने, एटिएमकार्ड लगायातका सेवा प्रवाह गर्न सकिने बताए ।