शिवसताक्षी / शिवसताक्षी नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. ३ स्थित पारावारीमा नागरिक आरोग्य कार्यक्रम सोमबारदेखि सुरु गरेको छ । उक्त कार्यक्रममा पहिलो दिन ६० जना विरामीहरुलाई स्वास्थ्य परिक्षण तथा निःशूल्क औषधि वितरण गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ ।
दुधे आयुर्बेद औषधालयका कविराज राजेन्द्र पोख्रेलले आयुर्वेद स्वास्थ्य संस्थाको पहँुचबाट टाढा रहेका शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाबासीलाई आरोग्य रहन आयुर्वेद उपचार र यसले पुर्याउने फाईदाका बारेमा जानकारी गराएका थिए ।
आयुर्वेद उपचार पद्धतिबाट बन्चित आम जनताहरुलाई प्रत्यक्ष रुपमा जिवनशैली परिवर्तनको बारेमा जानकारी उनले गराएका थिए । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने आम नगरिकमा बोध गराई ‘निरोगी नेपाल अभियान’ लाई अगाडि बढाउन उनले वडा बासीमा अपिल गरे ।
कविराज पोख्रेलले आयुर्वेद स्वास्थ्यको निशुल्क सेवा, औषधी वितरणको माध्यमबाट नसर्ने रोगहरुको रोगथाम तथा न्यूनिकरण गरि नागरिकहरुलाई शारीरिक, मानसिक एवं आध्यात्मिक रुपमा स्वास्थ तथा सवल बन्न वडा बासीलाई आग्रह गरे । ‘निरोगी नेपाल’ निर्माण अभियानमा सरिक गराउने मुख्य उद्देश्यका साथ पारावारीमा प्रत्येक महिनामा १ पटक यो कार्यक्रम संचालन गर्न लागिएको उनले जानकारी दिए ।
कार्यक्रममा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले झापाका सबै पालिकामा आयुर्वेदको सेवा पुगि नसकेको अवस्थामा शिवसताक्षी नगरमा भने झापा जिल्लामै सबैभन्दा पुरानो आयुर्वेद संस्थाको रुपमा स्थापित दुधे आयुर्वेद औषधालयले सेवा पुर्याई रहेको दावि गरे । कोरोना रोग नियन्त्रणका लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्बेदिक औषधि वितरण प्रभावकारी रुपमा संचालन गरेकोमा उनले दुधे आयुर्वेद औषधालयलाई धन्यवाद समेत दिए । नगरबासीलाई आयुर्बेद सेवा लिन सहज बनाउन दुधे आयुर्वेद औषधालय जिल्लामै अब्बल रहेको उनले बताए ।
उक्त कार्यक्रममा उपप्रमुख भोजकुमारी नेपालले आयुर्बेद एक जडिबुटी विज्ञान रहेकोले यसको प्रयोगले रोगहरु जरैबाट निर्मूल पार्न सकिने बताईन् । वडा अध्यक्ष पुन्य प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम दुधे आयुर्बेदिककी बैद्य निरीक्षक बिष्णु घिमिरेले संचालन गरेकी थिईन ।