झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरुले झापामा प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाइएका छन् ।
उक्त समूहका कार्यकर्ताहरु शुक्रबार मध्यान्ह झापा सदरमुकाम चन्द्रगढीमा भेला भइ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सङ्घर्ष समितिका संयोजक रविन कोइराला, केन्द्रीय सदस्य एवम् सह-संयोजक धर्मशिला चापागाई, सचिव मणिकुमार (विजय) साम्पाङ सहित आएको समूहले विरोधपत्र र एकथान नेपालको संविधान बुझाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।
संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएकाले संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्न भन्दै सो धाराको प्रति समेत पठाएको पत्रमा उल्लेख गरिएको छ । राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई कृयाशील बनाउने पक्षमा आउन अनुरोध गदै प्रधानमन्त्रीलाई सच्चिन अवसर दिएको प्रचण्ड-माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्य रविन कोइरालाले बताए ।